देशसमाचार

आज देशभरको मौसम: तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

Sharing is caring!

वैशाख १३, २०८२ । हाल देशमा प्रचलित मौसम प्रणाली अनुसार अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा क्रमशः वृद्धि भइरहेको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने बाँकी भागमा मौसम सामान्यतया खुला रहेको छ। दिउँसोतर्फ यी पहाडी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली कायमै रहने र कोशी, गण्डकी तथा कर्णालीका केही उच्च भूभागमा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

यससँगै गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक हिमपातको संकेतसमेत गरिएको छ। राति पनि यस्तै मौसमी अवस्था रहिरहने सम्भावना रहेकोले मौसम सम्बन्धी सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम अत्यधिक बढ्न सक्ने देखिएकाले तातो लहर (हीट वेभ) को जोखिम रहेको जनाइएको छ। यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू विशेष सतर्क रहनु उपयुक्त हुने विज्ञहरू बताउँछन्।

मौसमको परिवर्तनशीलता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता र सुरक्षात्मक उपायहरू अवलम्बन गर्न मौसम महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *