कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
असार १५, २०८२ । जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि भोलि असार १६ गते बिहानसम्म कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहेको र आगामी केही दिन तीव्र वर्षा हुने पूर्वानुमान गरिएको हो । यस अवधिमा निरन्तर वा एकैचोटि धेरै वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय, डुबान र साना खोला–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम उच्च रहेको बताइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित क्षेत्रका नागरिक, स्थानीय प्रशासन, उद्धार निकाय र सरोकारवालाहरुलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आवश्यक सुरक्षा उपाय अपनाउन पनि आग्रह गरिएको छ ।
सम्भावित असरलाई न्यूनिकरण गर्न पूर्वतयारी र सतर्कता अपरिहार्य रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

