अखवार

चैते धानखेतीको उत्पादनबाट मधेस प्रदेशका किसानहरू उत्साहित

Sharing is caring!


साउन ३, २०८१ । मधेस प्रदेशको अधिकांश जिल्लामा चैत धानको उत्पादन राम्रो भएको छ । गत वर्षको तुलनामा चैते धानखेतीको बिस्तार भएको र उत्पादन पनि राम्रो भएकोले किसानहरू उत्साहित भएका छन् ।

अन्य वर्षको तुलनामा यस वर्ष चैते धानको लागि मौसम अनुकूल रहेकोले धानको उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका अजय यादवले चैते धानको उत्पादन गत वर्षको भन्दा राम्रो भएको बताएका छन् ।खेतमा बिजुली पुगिसकेकोले किसानलाई सिँचाइको कुनै झमेला नभएको तथा मौसम अनुकूल हुँदा उत्पादन राम्रो भएको यादवको भनाइ छ । रौतहटको मौलापुर, फतुवा विजयपुर, कटहरिया, देवाही गोनाही, बौधिमाई नगरपालिकाको अधिकांश धानको खेतसम्म बिजुली पुगिसकेकोले सिँचाइको सुविधा राम्रो हुँदा चैते धानखेती फस्टाएको हो ।

बाराको आदर्श कोतबाल गाउँपालिकाका प्रगासप्रसाद साहले आफूले ५ मनभन्दा बढीको कट्ठाको दरले चैते धानको उत्पादन गरेको बताए । मंसिरमा धान ४ मनको कट्ठा मुस्किलले हुने खेतमा किसानहरूले ६ मनको कट्ठाको दरले पनि चैते धानको उत्पादन गरेको साहको भनाइ छ । चैते धानको खेतीमा खासै झन्झट नहुने र उत्पादन पनि राम्रो हुने साहको भनाइ छ ।

चैते धानको खेती गर्दा सबैतिर सुक्खा हुनाले धानको खेतसम्म किसान सजिलै पुग्न पाउँछन् । गोडमेल गर्न र सिँचाइ गर्न कुनै समस्या हुँदैन । साथै मलखाद पनि आवश्यकता र फुर्सदअनुसार तुरुन्त हाल्न सकिन्छ । बाढीको डर नहुने भएकोले किसानहरूले चैते धानखेती ढुक्कले गर्न थालेका छन् । चैते धानको खेती बारा जिल्लामा अत्यधिक हुने गरेको देखिएको छ ।

सर्लाहीमा पनि चैते धानको उत्पादन गत वर्षको तुलनामा धेरै बढी भएको छ । गत वर्षको तुलनामा बढी खेतमा र बढी दरमा उत्पादन भएको किसानहरूको भनाइ छ । सर्लाही जिल्लाको हरेक ठाउँमा गत वर्षको तुलनामा चैते धानखेती राम्रो भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द रायको दाबी छ ।

सर्लाही, रौतहट र बारा जिल्लाको करिब हरेक पालिकामा चैते धानखेती भएको छ । बिजुलीको सिँचाइ सुविधा पुगेको पालिकामा अधिकांश किसानले धेरथोर चैतेधानको खेती गरेका छन् ।रौतहटमा पनि गत वर्षको तुलनामा यस वर्ष चैतेधानको खेतीमा बिस्तार भएको र अनुकूल मौसम हुँदा धानको उत्पादन पनि राम्रो भएको कृषि ज्ञान केन्द्र रौतहटका कृषि अर्थविद् विप्लव गुप्ताले जानकारी गराएका छन् ।

गत वर्षको तुलनामा यसवर्ष सुक्खा कम भएको तथा मनसुनको वर्षा पनि विगतका वर्षहरूमा भन्दा छिटो भएकोले चैते धानखेतीमा रोग र किराको प्रकोप कम देखिएको तथा उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ । नेपाललाई धानको उत्पादनमा आत्मनिर्भर बनाउनका लागि चैते धानखेतीले निकै सहयोग पुर्याउने बुद्धिजीवीहरू बताउँछन् । चैते धानखेती र हरियो तरकारी उत्पादन बढाउनका लागि सरकारले खेतखेतमा बिजुली र किसानको हात हातमा सिँचाइ अभियान सञ्चालन गर्नुपर्ने कृषिसित सम्बन्धित बुद्धिजीवीहरूको सुझाव रहेको छ । यो खबर सौर्यबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *