Headlineसमाचार

एक लाख विरुवा रोप्ने अभियानमा अध्यक्ष प्रचण्डको साथ

Sharing is caring!

असार १, २०८२ । नेकपा माओवादी केन्द्र दमकले सञ्चालन गरिरहेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं सहभागी भएका छन् । शनिबार दमक–४ स्थित दाहाल प्रतिष्ठानमा प्रचण्डले फलफूलका विरुवा रोप्दै अभियानलाई समर्थन जनाएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी दमक अध्यक्ष रवि बस्नेतबाट प्रदान गरिएको विरुवा रोपी अभियानमा ऐक्यबद्धता जनाएपछि अभियानमा संलग्न कार्यकर्तामा थप उत्साह देखिएको छ । उनले वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिँदै जलवायु परिवर्तनका चुनौतीहरूका बीच यस्तो प्रयास अनुकरणीय भएको उल्लेख गरे ।

माओवादी केन्द्र दमकले विगत वर्षदेखि “एक लाख विरुवा रोपौँ, हरित दमक बनाऔँ” भन्ने नारासहित वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको छ । अध्यक्ष बस्नेतका अनुसार गत वर्षदेखि हालसम्म ७१ हजार फलफूलका विरुवा रोपिएका छन् । साथै, स्थानीयवासीलाई निःशुल्क विरुवा वितरणसमेत गरिँदै आएको छ ।

यस वर्षको अभियान १७ जेठदेखि सुरु गरिएको हो, जसअनुसार हालसम्म २१ हजार विरुवा रोपिएको संयोजक समुन्द्र लामाले जानकारी दिइन् । उनका अनुसार अध्यक्ष प्रचण्डले अभियानमा सक्रिय सहभागिता जनाएपछि स्थानीयस्तरमा थप ऊर्जा प्राप्त भएको छ ।

“पछिल्लो समय जलवायु परिवर्तनका असरहरू तीव्र हुँदै गएका छन्, त्यसैले वातावरण संरक्षणका लागि वृक्षरोपण हाम्रो अभियानको मुख्य उद्देश्य हो,” अभियान संयोजक लामाले भनिन्, “अध्यक्ष प्रचण्डको सहभागिताले हाम्रो अभियानलाई राष्ट्रिय सन्देश मिलेको छ ।”

दमक क्षेत्रमा जामुन, अम्बा, कागती, आँप, लिची, अनारजस्ता फलफूलका विरुवा रोपिएका छन् । माओवादी केन्द्र दमकका नगर इञ्चार्ज बेदु गौतमका अनुसार अघिल्लो वर्ष रोपिएका धेरै विरुवाले यस वर्षदेखि उत्पादन दिन सुरु गरेका छन् ।

अध्यक्ष बस्नेतले यस वर्ष प्रारम्भमा २५ हजार विरुवा वितरण गर्ने योजना रहे पनि अध्यक्ष प्रचण्डको आगमनपछि सो संख्या बढाउने तयारी भइरहेको जानकारी दिए । “गत वर्ष ५० हजारभन्दा बढी विरुवा वितरण गरेका थियौँ, ती विरुवाले उत्पादन दिन थालेपछि हामीलाई राम्रो प्रतिक्रिया मिलेको छ,” बस्नेतले भने ।

उनका अनुसार अभियानलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा अझ व्यवस्थित ढंगले वृक्षरोपण र वितरणलाई विस्तार गरिनेछ । साथै, सबै राजनीतिक दल र संघसंस्थालाई अभियानमा सहकार्य गर्न आग्रह गर्दै उनले भने, “यदि सबैको साथ मिल्यो भने ‘ग्रीन दमक, क्लिन दमक’को सपना चाँडै साकार हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *