देश

मन्त्रिपरिषद् बैठक : खाद्यमा आचार्य र पारवहनमा पोखरेल महाप्रबन्धकमा नियुक्त

Sharing is caring!


साउन २९, २०८१ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एसियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने सहुलियत पूर्ण ऋण र अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न वार्ता टोली गठन गर्ने भएको छ । साउन २८ गते बसेको बैठकले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘एसियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर १ सय १० मिलियन करिब रु १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर करिब रु १ अर्ब ९९ करोड अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,’

यसको साथै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्य धादिङलाई नियुक्त गर्ने र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिडेटको रिक्त महाप्रबन्धक पदमा प्रकाश प्रसाद पोखरेल इलामलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

उनले बैठकले भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसियाको १२ सम्मेलनमा भाग लिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भ्रमण स्वीकृत गरेको पनि बताए ।

त्यसैगरि, भू उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को ञ बमोजिम संघीय भूपू योगको सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको पनि उनको भनाई छ ।

यसको साथै, उनले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका तथा पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनसम्बन्धी कार्यायोजना स्वीकृत गर्ने र निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *