अखवार

आगामी आर्थिक वर्षको बजेट सन्देश : सरकार तत्काल फेरिँदैन

Sharing is caring!

जेठ १६, २०८१ । सरकार टिक्ने आशंका रहेको र महत्वकांक्षी बजेट आउँछ भन्ने कतिपयको आशंकालाई चिर्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । निरन्तरतामा आउने बजेट झैँ गरी बजेट आएको नेताहरु नै बताउँछन् ।

कर्मचारीहरुको तलब बढाइएन । सामाजिक सुरक्षा भत्ता बढाइएन । प्रदेशको विशिष्टिकृत विकास गर्ने गरी नयाँ मोडेल देखाएको छ । अर्थात, एक वर्ष वा छोटो चरणमा लागि नभएर दिर्घकालीन सोच राखेर बजेट ल्याएका कारण तत्काल सरकार नढल्ने संकेत मिलेको नेताहरु नै बताउँछन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत बजेटको कम आलोचना गरेको छ । प्रतिपक्षले कम अलोचना गरेको बजेटले समेत उत्साह जगाउन नसकेको सत्तापक्षका नेताहरु नै स्वीकार गर्छन । तर, निराशाजनक नरहेको र लागू भए आर्थिक सुधारका लागि सहयोग पुग्ने दाबी गर्दछन् ।

बजेटको प्रस्तुत सिलिङ अपेक्षित रहेको बताउँछन् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत । ‘हामीले १८ खर्ब हाराहारी भनेका थियौं । केही माथि १८ खर्ब ६० अर्बमा अर्थमन्त्रीले पुर्‍याउनु भएको छ’ डा। महत भन्छन्, ‘प्रस्तुत सिलिङ भन्दा माथि बढाउने ठाउँ थिएन । किनभने, विदेशी सहयोग देखाउने ठाउँ थिएन । राजश्व अध्याधिक मात्रामा बढ्छ भन्ने आधार थिएन ।’

अर्थमन्त्री पुनका अनुसार १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेटका लागि राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड बेहोरिनेछ । यसो गर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ ।

न्युन रकम पुर्ति गर्नका लागि वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाउने, राजश्व परिचालन र वैदेशिक साहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट बेहोर्ने सरकारको लक्ष्य छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै १९ खर्ब बढीको बजेट आउने बताएका थिए । २२ वैशाख २०८१ मा सिंहदरवारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले साढे १९ खर्बसम्मको बजेट आउन सक्ने बृफिङ गरेका थिए ।

वास्तविकताले ठूलो आकारको बजेट ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनामा ब्रेक लागेको नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वअर्थमन्त्री डा. महत बुझाई छ । ‘अत्यन्त ठूलो बजेट बनाउने जुन प्रधानमन्त्रीले भन्दै आउनु भएको थियो । त्यसमा ब्रेक लागेको छ’ उनले भने ।

प्रस्तुत बजेट कार्यान्वयन गर्दै आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ । मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य छ । प्रस्तुत बजेटमार्फत लिइएको यो लक्ष्य महत्वकांक्षी नभएको पूर्वअर्थमन्त्री डा.महत बताउँछन् ।

उनी भन्छन्, ‘देशको आर्थिक बृद्धि ६ प्रतिशत भन्नुभएको छ । यद्धपि, ६ प्रतिशतमा पुग्न पनि गाह्रो हुन्छ । तैपनि, ६ प्रतिशत सरकारी तवरबाट भन्दा त्यसलाई भन्न नहुने भन्न मिल्दैन् ।’

चालु आर्थिक बर्षमा पनि सरकारले ६ प्रतिशतकै आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो । तर, ३.९ प्रतिशत आर्थिक बृद्धि हुने अनुमान रहेको अर्थमन्त्री पुनले बताएका छन् ।

अर्थशास्त्री तथा रास्वपाका सांसद स्वर्णिम वाग्ले बजेट गैरजिम्मेवार नभई सन्तुलित भएको बताउँछन् । उनी भन्छन्, ‘बजेट मध्यपन्थी छ । जुन बजारमा आकार ह्वात्तै बढ्ला भन्ने थियो, त्यसमा सम्हालिएको छ, तर गैरजिम्मेवार छैन, सन्तुलित छ ।’

प्रस्तुत बजेटलाई समयमै कार्यान्वयनमा लैजान सक्नुपर्ने चुनौती रहेको उनलाई लाग्छ । वाग्ले अगाडि थप्छन्, ‘यसलाई अर्थमन्त्रीले भनेजस्तो योजना बनाएर दशैंअघि नै कार्यान्वयनमा जान सक्ने र पुरानो रोग चिर्न सक्नुभयो भने कार्यान्वयनमा जाने आधार छ ।’

सरकारले धेरै आन्तरिक ऋण उठाउँदा निजी उद्यमीले सहज रुपमा ऋण नपाउने, बैंकमा तरलता बढ्ने र ब्याजदरमा पनि चाप पर्ने भएकाले सरकारले र अर्थमन्त्रालयले ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सन्तुलित बजेट आएको बताउँछन् । उनी भन्छन्, ‘धेरै उत्साहका साथ ठूला कुरा गरेको छैन । निराशाकै कुरा पनि गरेको छैन । बजेट सम्रगमा सन्तुलित नै देखिन्छ । ’

प्रस्तुत बजेटले कतिपय अवस्थामा समीक्षा गर्न खोजेको बताउँछन् । उदाहरणका रुपमा चालू आर्थिक वर्षमा भन्दा कम राजश्व उठाउने लक्ष्य राख्नु रहेको भनी देखाउँछन् ।

‘चालु आर्थिक वर्षमा जति राजश्व उठाउँछु भनेको थियो यसवर्ष त्यो घटाएर उठाउँछु भनेको छ । अर्थात, राजश्व उठ्दैन भन्ने स्वीकार गरेको छ । विगतमा राखेका लक्ष्य अव्यवहारिक थियो भनेर स्वीकार गरेको छ’ पाण्डेले भने ।

राजश्व उठाउने चुनौती स्वीकार गरेको सरकारसामु खर्च गर्ने चुनौती समेत रहेको बताउँछन् । उनी थप्छन्, ‘आन्तरिक ऋण बढाउँछु भनेको छ । यसले ऋणको चाप बढाउने देखिन्छ ।’

वैदेशिक ऋण जे लक्ष्य राखेको त्यो पनि चुनौतीपूर्ण देख्छन् । ‘लक्ष्य राखे अनुसार वैदेशिक ऋण आउने स्थिति कम छ। बाह्य ऋण कसरी बढेर आउँछ भन्ने आधार दिएको छैन’ पाण्डेले भने । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *