Headlineसमाचार

आज दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल र विभिन्न प्रस्ताव पेस हुँदै

Sharing is caring!


असार ५, २०८२ । संघीय संसदका दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत विनियोजन विधेयकमाथि छलफल सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । छलफलमा विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमाथि समूहीकृत रूपमा विचार गरिनेछ ।

आजको बैठकमा छलफल हुने मन्त्रालयहरूमा वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय समावेश छन् । साथै, ती शीर्षकमाथि खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत हुनेछन् ।

त्यसैगरी, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत हुने कार्यक्रम रहेको छ, जसलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रस्तुत गर्नेछन् ।

यसैबीच, ‘भिजिट भिसा’ प्रकरणको छानबिन र गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सदनमा निरन्तर अवरोध गरिरहेका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म संसद् सञ्चालनमा अवरोध जारी राख्ने अडान पुनः दोहोर्याएका छन् ।

अर्कोतर्फ, राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ ।

त्यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्यय सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले “नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा, प्रतिनिधिसभाबाट प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव अर्थमन्त्री पौडेलद्वारा प्रस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *