प्रचण्ड गर्मीबीच वीरगंजमा विद्युत संकट : मेयर सिंहले ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराए
जेठ २०, २०८२ । वीरगंज र आसपासका क्षेत्रहरू पछिल्ला केही दिनदेखि लगातार चर्को गर्मीको चपेटामा छन्। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा पनि बारम्बार विद्युत सेवा अवरुद्ध भइरहेपछि स्थानीय जनजीवन असहज बन्दै गएको छ। यस्तो परिस्थितिमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले ऊर्जा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मेयर सिंहले ऊर्जा मन्त्री दीपक खड्कासँग सम्पर्क गर्दै वीरगंज क्षेत्रको विद्युत आपूर्ति समस्या दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्न आग्रह गरेका हुन्। उनले गर्मीको यस्तो चरम अवस्थामा समेत पटक–पटक विद्युत सेवा बन्द हुँदा अस्पताल, विद्यालय, घरायसी काम र औद्योगिक गतिविधिहरूमा गम्भीर असर परेको बताएका छन्। विशेषतः अस्पतालहरूमा शिशु र वृद्धवृद्धाहरूको उपचारमा कठिनाइ बढेको र विद्यालयहरूमा पठनपाठन अवरुद्ध भएको जनाउँदै सिंहले तत्काल समाधानको खाँचो औंल्याएका छन्।
उनका अनुसार लगातार लोडसेडिङका कारण घरका विद्युतीय उपकरणहरू बिग्रन थालेका छन् भने गृहिणी महिलाहरू खाना पकाउनेजस्ता कार्यमा असहज बनेका छन्। उद्योगहरूमा पनि उत्पादन प्रक्रिया ठप्प हुन थालेको भन्दै उनले उद्योगमैत्री नीति ल्याउन केन्द्र सरकारको ध्यान खिचेका छन्।
ऊर्जामन्त्रीसँगको भेटमा मेयर सिंहले वीरगंज क्षेत्रका लागि थप ट्रान्सफर्मर, सबस्टेशन विस्तार, लाइन मर्मत तथा प्रणाली स्तरोन्नतिका लागि तत्काल बजेट र प्राविधिक स्रोतसाधन परिचालन गर्न अनुरोध गरेका छन्। महानगरपालिकाले स्थानीय तहबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउँदै सिंहले संघीय सरकारले संयन्त्र बनाउनेतर्फ चाँडो पहल गर्नुपर्ने बताए।स्पष्ट पारे।

