अखवार

विकल पौडेलद्वारा १३ करोड भ्रष्टाचार गरेको दोषी ठहर

Sharing is caring!


वैशाख २२, २०८२ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुर दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गरेको हो । दोषी ठहरसँगै सजाय निर्धारण गरेको छ भने अन्य चार जनालाई सफाइ दिएको छ ।

पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५ सय ८० रुपियाँ दामासाहीले हुने बिगो बराबरको जरिवाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाएको छ ।

यही कसुरमा प्रतिवादी रहेका म्याक्स इन्टरनेसनल प्रालि र उक्त प्रालिका सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५ सय ८० रुपियाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न पनि फैसला भएको छ । अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।

त्यसै गरी विकल, म्याक्स इन्टरनेसनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १ सय ३ रुपियाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने पनि ठहर गरेको छ । पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

उनीहरूसहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० करोड ८५ लाख ७५ हजार ७४० रुपियाँको बिगो मागदाबी गरेको थियो । तर, उनीहरू चारै जनालाई विशेष अदालतले सफाइ दिएको छ । ‘निज प्रतिवादीहरूलाई कार्यकारी निर्देशक प्रतिवादी विकल पौडेलको निर्देशानुसार खरिद प्रक्रियामा संलग्न गराएको देखिए तापनि निज प्रतिवादीहरूको उक्त खरिद कार्यमा कुनै निर्णायक भूमिका रहेको नदेखिएको, खरिद प्रक्रियामा आफ्नो पदीय दायित्वबमोजिमको कार्यसम्म गरेको हुँदा आरोपित कसुरमा निजहरूको कुनै बदनियतपूर्ण संलग्नता देखिन नआएकाले निज प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’ –आदेशमा भनिएको छ ।

हाइ डिजिटल प्रिन्ट प्रडक्सन सिस्टम खरिद गर्न दुई वटा कार्यक्रमका लागि बजेट माग गरी भ्रष्टाचार गरेको ठहर गरेको छ । कार्ड बेस्ड प्रेस मेसिनरी सफ्टवेयर र हार्डवेयर एन्ड रिलेटेड इक्विपमेन्टका लागि ३० करोड रुपियाँ र पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एन्ड हार्डवेयर एन्ड रिलेटेड इक्विपमेन्टका ४६ करोड गरी दुईवटा कार्यक्रमका लागि ७६ करोड बजेट विनियोजन भएको थियो ।

यस खरिद प्रक्रियामा विकल पौडेल आफैंले समग्र खरिद प्रक्रियामा सक्रियता लिएर दुई छुट्टाछुट्टै शीर्षकअन्तर्गतको बजेटलाई एउटै प्याकेज बनाएर खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गएको अदालतको ठहर छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *