देश

भक्तपुरमा ट्राफिक सचेतना कक्षको नयाँ भवन : अब टेण्डमा कक्षा लिनुपर्ने झन्झट सकियो

Sharing is caring!


वैशाख १९, २०८२ । भक्तपुरका सवारी चालकहरू अब ट्राफिक सचेतना कक्षा लिन काठमाडौं धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन्। सूर्यविनायक नगरपालिकाले ट्राफिक प्रहरी परिसर भक्तपुरमा निर्माण गरेको ‘ट्राफिक सचेतना कक्ष’को औपचारिक उद्घाटन नगरप्रमुख वासुदेव थापाले गरेका हुन्।

झन्डै रु. ८ लाखको लागतमा निर्माण गरिएको एक कोठे भवन २२ महिनासम्म अस्थायी टेण्डमा सञ्चालन हुँदै आएको कक्षको सट्टा प्रयोगमा ल्याइने भएको हो। वर्षा, गर्मी वा जाडो मौसमको असहज अवस्थाबाट हैरान ट्राफिक प्रहरी र कक्षामा सहभागी चालकहरूले अब भने राहत महसुस गर्ने भएका छन्।

नगरप्रमुख थापाले भने, “सडकमा सुरक्षित यात्राका लागि चालकमा चेतना अभिवृद्धि गराउनु हाम्रो दायित्व हो। सचेतना कक्षा अब व्यवस्थित भवनमा सञ्चालन हुँदा प्रभावकारिता अझ बढ्नेछ।” उनले नगरपालिकाबाट प्रहरी, नापी, मालपोत जस्ता अन्य सरकारी कार्यालयहरूलाई पनि आवश्यक सहयोग दिइएको जानकारी दिए।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले नयाँ भवन निर्माणपछि टेण्डबाट मुक्ति पाएको र दैनिक १००–१५० जनाले कक्षा लिने गरेको जानकारी दिए। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म मात्रै १६ हजारभन्दा बढी चालकहरूले सचेतना कक्षा लिइसकेको तथ्यांक उनले सार्वजनिक गरे।

उनका अनुसार मापसे, लेन अनुशासन उल्लंघन, तीव्र गति वा रातो बत्ति उलंघनजस्ता कारणले कारबाहीमा परेका चालकहरूलाई एक घण्टाको अनिवार्य सचेतना कक्षा लिइने प्रचलन छ।

वडा नम्बर ६ का अध्यक्ष ईश्वर खड्का र वडा नम्बर ७ का अध्यक्ष रविन्द्र सापकोटा दुवैले नगरपालिकाले समस्या हेरेपछि तत्काल निर्माण प्रक्रिया सुरु गरेको बताएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिकको सक्रियता र सचेतना कक्षमार्फत दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *