समाचार

६१ औं विद्यार्थी एकता दिवसमा अखिल समाजवादीको शुभकामना, ऐतिहासिक आन्दोलनको स्मरण

Sharing is caring!

जेठ १, २०८२ । ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा नेपालभरका करिब ८५ लाख विद्यार्थीलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (समाजवादी) ले शुभकामना सन्देश जारी गर्दै ऐतिहासिक संघर्षको स्मरण गरेको छ।

संघर्ष, बलिदान र एकताको प्रतीकस्वरूप हरेक वर्ष जेठ १ गते विद्यार्थी दिवस मनाउने परम्परा रहेको छ। यस अवसरमा संगठनका अध्यक्ष नरेन्द्र सीले सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै पूर्ववर्ती नेताहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गरेका छन्। साथै, ऐतिहासिक आन्दोलनको शिक्षा आजका पुस्ताले आत्मसात् गर्नु आवश्यक रहेको पनि उनले औंल्याएका छन्।

वि.सं. २०२१ सालमा त्रिचन्द्र कलेजका विद्यार्थीहरूको नेतृत्वमा काठमाडौंका विभिन्न कलेजका विद्यार्थीहरू निरंकुश पंचायती व्यवस्थाविरुद्ध उभिएर व्यापक आन्दोलनमा उत्रेका थिए। तत्कालीन शासनप्रणालीका विरुद्धमा उठेको यो आन्दोलनले राष्ट्रको सार्वभौमिकता, राष्ट्रियता र विद्यार्थीका अधिकारका पक्षमा उल्लेखनीय हस्तक्षेप गरेको थियो।

आन्दोलनको क्रममा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको पहलमा अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भएको थियो। सो सम्मेलनले विविध मागसहित संघर्षको रूपरेखा तय गरेको थियो। प्रमुख मागमा गोर्खा भर्ती केन्द्रको खारेजी, राष्ट्रघाती सन्धिहरूको अन्त्य, स्वतन्त्र विद्यार्थी युनियनको पुनःस्थापना र बन्दी विद्यार्थीहरूको रिहाइ रहेका थिए।

सम्मेलनपछि जेठ १ गते विशाल विद्यार्थी र्‍याली आयोजना गरिएको थियो। उक्त र्‍यालीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति उत्पन्न भएको थियो, जसमा सयौं विद्यार्थी घाइते बनेका थिए भने १५० भन्दा बढी पक्राउ परेका थिए।

झडपपछिको दवाबस्वरूप सरकारले आन्दोलनकारीहरूको प्रमुख मागहरूमा सहमति जनाउँदै स्वतन्त्र विद्यार्थी युनियनको अधिकार पुनःस्थापना गर्नुका साथै थुनामा रहेका विद्यार्थीहरूलाई रिहा गर्न बाध्य भएको थियो।

त्यही ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने चलन छ। अध्यक्ष सीले त्यस समयमा योगदान दिएका सबै अग्रज नेताहरूप्रति श्रद्धा व्यक्त गर्दै भने, “त्यो बलिदानपूर्ण इतिहास आजका पुस्ताले जान्न र बुझ्नुपर्छ, तबमात्र आन्दोलनको मूल सार जगेरामा रहन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *