देश

प्रधान सेनापतिको कार्यभार अशोकराज सिग्देललाई

Sharing is caring!


साउन २४, २०८१ । प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् ।

जंगी अड्डामा आयोजित एक समारोहकाबीच सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ श्रावण १४ गतेको निर्णय बमोजिम कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी अख्तियारी प्राप्त गरेका सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।

गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका प्रधान सेनापति महारथी शर्मा भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै छन् ।

नेपाली सेनाको प्रचलित परम्परा अनुसार उनी शुक्रबारदेखि बिदामा बस्दै छन् । नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरू, रक्षा सचिव लगायत रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यवहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरे ।

साथै, उनले सिग्देललाई सफल कार्यकालका लागि शुभकामना सहित बधाई समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *