Headlineसमाचार

असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व देशभर मनाइँदै

Sharing is caring!

असार १५, २०८२ । असार १५ गते आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व उल्लासपूर्वक मनाइँदै छ। यो दिन नेपाली समाजमा विशेषरूपमा किसानहरूद्वारा दही चिउरा खाएर मनाइने परम्पराले गहिरो सांस्कृतिक र कृषियोग्य महत्व बोकेको छ।

वि.सं. २०६१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। नेपाल कृषिप्रधान देश भएकाले यहाँका अधिकांश नागरिकको जीविका खेतीपातीमै निर्भर रहेको सन्दर्भमा धान दिवसको महत्त्व झन् बढेको छ।

यस दिन विशेष गरी किसानहरू खेतमै धान रोप्दै, लोकगीत गाउँदै रमाइलो गर्छन्। “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला” जस्ता असारे भाकामा गाउने लोकदोहोरी गीतहरूले खेतपाखालाई झनै रमाइलो बनाउँछ। कामसँगै खेतमा हिलो छ्यापाछ्याप गर्दै युवा युवतीहरूले आपसमा हास्यव्यङ्ग्य, नाचगान र परम्परागत शैलीमा मनोरञ्जन गर्ने परम्परा पनि यथावत् छ।

असार १५ लाई नेपाली समाजमा ‘दही चिउरा खाने दिन’का रूपमा पनि मनाइन्छ। खेतमा मेहनत गरिरहेका किसानहरूले दही र चिउरा खाएर ऊर्जा प्राप्त गर्ने विश्वास गरिन्छ। गर्मी महिनामा दहीले शरीरमा शीतलता दिन्छ भने चिउराले शक्ति दिने जनविश्वास छ।

खेतीसँग प्रत्यक्ष संलग्न नभएका नेपालीहरूले पनि यो दिन दही चिउरा खाएर पर्वको अनुभूति लिन्छन्। पछिल्लो समय दही, चिउरासँगै आँप र मासु खाने चलन पनि बढ्दै गएको देखिन्छ।

नेपाली संस्कृतिमा दहीको धार्मिक र सामाजिक महत्त्वसमेत रहिआएको छ। घरबाट शुभकार्यका लागि निस्कँदा निधारमा रातो टीका लगाइ दही अक्षता मुछ्ने परम्परा छ। शुभकामनाका रूपमा सगुनस्वरूप दही खुवाएर बिदाइ गर्ने चलन पनि नेपाली समाजमा गहिरो रूपमा बसिएको छ।

दही वैज्ञानिक दृष्टिकोणले पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ। प्राचीन ग्रन्थ र परम्परामा दही मथेर बनाइएको मोही भोजनपछि सेवन गर्दा पाचनक्रिया मजबुत हुने भनाइ पाइन्छ। आयुर्वेदले पनि “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्” भन्दै मोहीको औषधीय गुणको वर्णन गरेको छ।

पखाला लाग्दा दही चिउरा सेवन गर्दा औषधिको काम गर्छ भन्ने विश्वासका कारण पनि नेपाली समाजमा दही चिउराको महत्त्व झनै बिस्तार भएको छ।

यसरी असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व केवल कृषिमा आधारित चाड मात्र नभई नेपाली संस्कृति, परम्परा र स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण अवसर बनेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *