Headlineदेश

नारायणहिटी दरबार संग्रहालय वरपरको क्षेत्र निषेधित घोषित

Sharing is caring!


जेठ १६, २०८२ । राजावादी समूहद्वारा सम्भावित आन्दोलनलाई ध्यानमा राख्दै सरकारले नारायणहिटी दरबार संग्रहालय वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार (आज) एक आदेश जारी गर्दै नारायणहिटी क्षेत्र आसपासका ठाउँहरूमा अनशन, धर्ना, जुलुस, प्रदर्शन, सभा लगायतका विरोधका कार्यक्रम गर्न पाँच जनाभन्दा बढी व्यक्तिको भेला निषेध गरिएको जानकारी दिएका छन् ।

उक्त आदेश जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार शनिबारदेखि लागू भई आगामी असार २४ गतेसम्म कायम रहने जनाइएको छ । निषेधित क्षेत्रको दायरा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट, जयनेपाल मोड हुँदै महेन्द्र सालिकसम्म फैलिएको छ ।

विरोध कार्यक्रम निषेध

प्रशासनले उक्त क्षेत्रभित्र कुनै पनि प्रकारका प्रदर्शन, विरोध कार्यक्रम, सभा, जुलुस तथा धर्ना नगर्न सबैलाई अनुरोध गरेको छ। आदेशको उल्लंघन गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

राजावादी आन्दोलनको पृष्ठभूमि

हालैका दिनमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थक राजावादी समूहहरूले काठमाडौं लगायतका विभिन्न स्थानमा ‘राजा आउ देश बचाउ’ भन्ने नारासहित प्रदर्शन गर्दै आएका छन्। सामाजिक सञ्जालमा पनि राजसंस्थाको पुनःस्थापनाको माग गर्दै अभियानहरू चलिरहेका छन् ।

राजावादीहरूको सम्भावित आन्दोलन तथा प्रदर्शनको पूर्वसूचना पाएपछि सुरक्षा सतर्कता अपनाउँदै प्रशासनले निषेधाज्ञा लागू गरेको हो । नारायणहिटी दरबार संग्रहालय पूर्वराजाको निवाससमेत रहिएकाले सो क्षेत्रमा सुरक्षा संवेदनशीलता बढाइएको जनाइएको छ ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिती

निषेधाज्ञासँगै नारायणहिटी क्षेत्र वरपर ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको टोलीले क्षेत्रको निगरानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *