विनियोजन विधेयक २०८२ प्रतिनिधि सभाबाट पारित
असार १०, २०८२ । संघीय संसद्को प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित गरिएको छ । आज (मङ्गलबार)को बसेको प्रतिनिधि सभाको बैठकमा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेटलाई स्वीकृति दिइएको हो ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ संसदमा प्रस्तुत गर्दै पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । सो विधेयक बहुमतले पारित भएको छ । संसद्को स्वीकृतिसँगै आगामी आर्थिक वर्षका लागि सरकारको खर्च र योजनाहरू कार्यान्वयनको बाटो खुलेको छ ।
सरकारले यसअघि आगामी वर्षको बजेट प्रस्तुत गर्दै उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने, पूर्वाधार निर्माण, रोजगारी सृजना, ऊर्जा तथा कृषि क्षेत्रमा लगानी बढाउने लगायतका योजनाहरू सार्वजनिक गरेको थियो । आगामी वर्षको बजेट साउन १ गतेबाट लागू हुनेछ ।

