अखवार

कांग्रेसबाट चुनाव हारेकालाई गभर्नर बनाउने प्रपञ्च

Sharing is caring!


वैशाख २९, २०८२ । नेपाल राष्ट्र बैंकको ६८ बर्से इतिहासमै पहिलो पटक गभर्नर नियुक्तिको विषय सबैभन्दा धेरै गिजोलिएको छ । नियामकीय स्वात्ततामाथि नांगो हस्तक्षेप गर्ने सत्तारुढ एमाले र कांग्रेसको बद्नियत र बिचौैलियाको चलखेलले गभर्नर नियुक्ति नै अन्योलको भुमरीमा फसेको छ ।

यसअघि पनि राजनीतिक रङकै आधारमा गभर्नर नियुक्त हुने गरेको भए पनि यस पटक भने सत्तारुढहरूले नांगो हस्तक्षेप गर्न खोज्दा गभर्नर नियुक्तिले जटिल मोड लिएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर रिक्त हुनु १ महिनाअगावै नयाँ गभर्नर नियुक्ति हुनुपर्ने व्यवस्था छ । तर, रिक्त भएको १ महिनाभन्दा बढी समयसम्म कामुकै भरमा केन्द्रीय बैंक चलिरहेको छ ।

कांग्रेसले गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई नै गभर्नर बनाउने नयाँ लबिइङ थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेका हुन् । यसअघि देउवा र ओलीबीच राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएर उनलाई राजीनामासमेत गर्न लगाइएको थियो ।

तर, कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओली कामु गभर्नर ढुंगानालाई नै गभर्नर बनाउने प्रयासमा छन् । देउवाले भने आगामी प्रधानमन्त्री आफू भएका कारण गभर्नर पनि आफू निकटकै हुनुपर्ने दाबी गरेपछि गभर्नर छाड्न ओली तयार भएका हुन् । तर, ओलीले भट्टलाई नरुचाएका कारण उनको राजीनामा स्वीकृत हुने नसकेपछि कांग्रेसले अर्को नाम अघि सारेको हो । यद्यपि, यसबारे पार्टीमा आधिकारिक छलफल नभएको र आफूलाई थाहा नभएको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।

को हुन् पौडेल ?

नयाँ गभर्नर बनाउने तयारी गरिएका पौडेललाई नियुक्त गर्न भने राष्ट्र बैंक ऐन नै बाधक बन्ने देखिएको छ । ऐनको दफा २१(क) मा गभर्नर नियुक्तिको अयोग्यतासम्बन्धी व्यवस्था छ । भनिएको छ, ‘कुनै राजनीतिक दलको पदाधिकारी वा सदस्य भएको व्यक्ति नियुक्त हुने अयोग्य हुनेछ ।

तर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष चितवनका डा. विश्व पौडेल गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर चुनाव लडेका व्यक्ति हुन् । यद्यपि निर्वाचनमा उनी तेस्रो स्थानमा मात्रै रहे । सो क्षेत्रमा रास्वपाका हरि ढकालले विजय हासिल गरेका थिए । त्यतिबेला कांग्रेसबाट टिकट पाएपछि उनले योजना आयोगबाट राजीनामा दिएका थिए । स्मरणीय छ– यसअघि निवर्तमान गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’को छद्म नाम राखेर नेकपा एमालेको संगठनमा बसेको भन्दै संसद्मा प्रश्न उठेपछि एमालेले जबाफ दिनुपरेको थियो ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका उनी योजना आयोगको उपाध्यक्ष हुनुअघि कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणाको युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । राणासँग राम्रो सम्बन्ध भएकै कारण उनी गभर्नरको बलियो दाबेदार भएको बताइएको छ ।

सिफारिस समितिबाट बाहिरिए पौडेल, अधिकारीविरुद्धको रिटको पेसी भोलि

कांग्रेसले गभर्नर बनाउने भएसँगै विश्व पौडेलले सरकारले बनाएको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन् । अब अर्थमन्त्री पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीमात्रै सदस्य छन् । यसैबीच, सर्वोच्च अदालतले अधिकारी समितिमा बस्न नमिल्ने भन्दै दायर रिटमा भोलि (३० वैशाख)का लागि पेसी तोकेको छ ।

अधिवक्ता नवीन धितालले अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको भन्दै रिट दिएका हुन् । यो खबर सौर्य दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *