सुनको मूल्यमा ऐतिहासिक उचाइ, एकैदिन ६ हजार ९ सयले वृद्धि
वैशाख ९, २०८२ । स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार एकैदिन ६ हजार ९ सय रुपैयाँले वृद्धि भएपछि सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् सोमबार तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको सुन मंगलबार अचानक उच्च मूल्यमा कारोबार भएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी दर हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र डलरको भाउमा देखिएको अस्थिरताका कारण नेपाली बजारमा समेत सुनको मूल्य तीव्र रुपमा बढेको हो।
अर्कोतर्फ, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि देखिएको महासंघले जनाएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ उच्च रहँदै आएको छ। लगानीकर्ताको ध्यान सुरक्षित सम्पत्तिमा केन्द्रीत भइरहँदा सुनको मागमा वृद्धि देखिएको र त्यसको असर नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको व्यवसायीहरू बताउँछन्।

