देश

भूमि अध्यादेश फिर्ता नभए अन्य अध्यादेशमा पनि जसपाको असहयोग

Sharing is caring!

फागुन १८, २०८१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अन्य अध्यादेशहरूमा पनि समर्थन नगर्ने स्पष्ट अडान लिएका छन्।

आजदेखि सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन पेश गर्दै भूमि अध्यादेशको विपक्षमा कडा धारणा व्यक्त गरेका छन्। उनले संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म बाँकी पाँच अध्यादेशहरूलाई पनि समर्थन नगर्ने बताएका छन्।

यादवको प्रतिवेदनमा भनिएको छ, “संसदमा भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरिएसम्म अन्य अध्यादेशहरूलाई पनि समर्थन नगर्ने हाम्रो चट्टानी अडानका कारण सरकारले अहिलेसम्म ती अध्यादेश सदनमा प्रस्तुत गर्न सकेको छैन।”

यादवले भूमि सम्बन्धी अध्यादेशलाई देश र जनताको हितविपरीत रहेको भन्दै त्यसले रियल स्टेट व्यवसायी, भू–माफिया, र दलालहरूको मात्रै पक्षपोषण गर्ने आरोप लगाएका छन्। साथै, उक्त अध्यादेश तराई-मधेशका वन-जंगल, सार्वजनिक जग्गा, र अन्य स्रोतसाधन आफ्ना कार्यकर्ताहरूलाई वितरण गर्ने उद्देश्यले ल्याइएको उनको प्रतिवेदनमा उल्लेख छ।

यसअघि पनि जसपाले भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै आएको थियो। पार्टीले यसबारे थप रणनीति बनाउन केन्द्रीय समिति बैठकमार्फत अन्तिम निर्णय लिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *