आज प्रजातन्त्र दिवस: देशभर विविध कार्यक्रमगरी मनाइँदै
फागुन ७, २०८१ । ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सरकारले औपचारिक कार्यक्रमहरू आयोजना गर्नुका साथै नागरिकस्तरबाट पनि स्वेच्छिक रूपमा विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।
वि.सं. २००७ सालमा निरंकुश राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। प्रजातन्त्रको जगमा लोकतन्त्र हुँदै हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भइसकेको छ ।
नेपालको इतिहासमा प्रजातन्त्र दिवस विशेष महत्व राख्छ । आजको दिन विशेष गरी लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदहरूको योगदानलाई कृतज्ञतापूर्वक सम्झने अवसर हो।
यसै दिन तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए, जसपछि राणा तथा नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनको औपचारिक प्रारम्भ भएको थियो ।

