देश

मधेसमा ७४ अवैध अस्पताल बन्द, प्रदेश सरकारले गर्यो कडाइ

Sharing is caring!

चैत ६,२०८१ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा १ सय १४ निजी स्वास्थ्य संस्थामध्ये ७४ वटा अवैध रहेको पाइएको छ। ती अस्पतालहरू मापदण्डविपरीत सञ्चालनमा रहेकाले प्रदेश सरकारले ताला लगाएर बन्द गराएको छ।

प्रदेश सरकार झोले, अवैध तथा मापदण्ड विपरीत सञ्चालन भइरहेका निजी अस्पताल तथा क्लिनिकहरूको नियन्त्रणमा सक्रिय रूपमा लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार, सबैभन्दा धेरै अवैध अस्पताल सर्लाहीमा (२४ वटा) फेला परेका छन्।

त्यस्तै, जनकपुरसहित विभिन्न जिल्लाका अवैध अस्पतालहरू पनि बन्द गरिएको छ। हालसम्म २२ वटा अवैध अस्पतालहरू बन्द गराइएका छन्। 

प्रदेशभर अनुगमनको क्रममा सप्तरीमा २, रौतहटमा २१, महोत्तरीमा ५ र पर्सामा १ अस्पताल बन्द गरिएका छन्। जनस्वास्थ्य अधिकृत सञ्जीव ठाकुरका अनुसार, ‘धेरैजसो निजी अस्पताल न त मापदण्ड पूरा गरेका छन्, न त वैधानिक रूपमा सञ्चालनमा छन्। यसपटक मुख्यमन्त्रीको पहलमा कडा अनुगमन भई कारबाही भइरहेको छ।’

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको नाममा मानव ज्यानसँग खेलबाड हुन नदिने प्रतिबद्धता जनाएका छन्। उनले प्रशासन तथा सम्बन्धित निकायको लापरवाहीले गर्दा यस्ता अनियमितता बढेको भन्दै अबका दिनमा झनै कडा अनुगमन गर्ने बताए।

जाँचका क्रममा केहि स्वास्थ्य संस्थाहरू मेडिकल ज्ञान भएको तर अनुमति नलिएका व्यक्तिहरूले सञ्चालन गरेको पाइएको छ। केही स्थानमा एम्बुलेन्स चालकहरू मिलेर अस्पताल सञ्चालन गरिरहेको समेत खुलेको छ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ र जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार, बिना इजाजत स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ। सोही आधारमा कारबाही गर्दै प्रदेश सरकार अनुगमनमा सक्रिय रूपमा लागिपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *