देश

बुद्ध जयन्तीमा प्रधानमन्त्री ओलीद्वारा शान्ति र करुणाको कामना

Sharing is caring!

वैशाख २९, २०८२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औँ बुद्ध जयन्तीको अवसरमा सबै नेपालीमा शान्ति, सम्यक् दृष्टि र उज्यालो जीवनको कामना गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौतम बुद्धको शिक्षालाई अहिंसा, मानवता र करुणाको अमूल्य उपहारको रूपमा स्मरण गरेका छन्।

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार — यिनै हुन् गौतम बुद्ध,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्।’

बुद्ध जयन्तीले बुद्धको जन्म, बुद्धत्व प्राप्ति (बोधि) र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाउने विश्वास व्यक्त गरेका छन्।

‘सबैलाई सुख होस्, सबको जय होस्,’ भन्दै प्रधानमन्त्री ओलीले सम्यक् जीवन पथमा अघि बढ्न आह्वान गरेका छन्।

बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबीच विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेको छ। विशेषगरी लुम्बिनी, स्वयम्भू र बौद्धनाथजस्ता तीर्थस्थलमा श्रद्धालुहरूको भीड देखिएको छ। सरकारी निकाय, धार्मिक संस्था तथा बुद्ध धर्मावलम्बीहरूद्वारा पूजा, दीप प्रज्वलन, र शान्ति यात्राजस्ता कार्यक्रमहरू आयोजना भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *