अहमदाबाद विमान दुर्घटनामा २४२ जनाको मृत्यु
जेठ २९, २०८२ । बिहीबार बिहान भारतको गुजरात राज्यस्थित अहमदाबाद शहरमा भएको एक भयानक विमान दुर्घटनामा २४२ जनाको ज्यान गएको आशंका गरिएको छ । लण्डन ग्याटविकका लागि उडेको एयर इन्डिया फ्लाइट नम्बर १७१ उडेको केही क्षणमै आवासीय क्षेत्रमा खसेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटना ‘हृदयविदारक’ भन्दै राष्ट्रसहित सम्पूर्ण विश्व स्तब्ध बनेको प्रतिक्रिया दिएका छन्। “अहमदाबादको यो त्रासदीले हामीलाई स्तब्ध र अत्यन्त दुःखी बनाएको छ,” उनले भने ।
विमान उडेको केही क्षणमै दुर्घटना
भारतीय नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार विमानले उडानपछि आपतकालीन ‘मे डे’ सन्देश जारी गरेको थियो । त्यसको केही क्षणमै विमान अहमदाबाद विमानस्थलबाट टाढा नभएको क्षेत्रमा खसेको हो । उक्त क्षेत्र घना बस्ती भएको र केही कार्यालयहरू पनि रहेको बताइएको छ ।
सबै यात्रुको मृत्युको आशंका
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले प्रारम्भिक जानकारी दिँदै भने, “दुर्घटनामा कोही पनि जीवित रहेको देखिदैन ।” दुर्घटनामा थप मानवीय क्षतिको सम्भावना रहेको भन्दै उनले विमान जमिनमा खसेको क्षेत्र पनि संवेदनशील भएको बताए ।
भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा २४२ जना सवार थिए, जसमा दुई पाइलटसहित १० जना चालक दलका सदस्य थिए । यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, सात जना पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित यात्रु र उनीहरूका परिवारप्रति समवेदना जनाएका छन् । उनले यो घटनालाई ‘विनाशकारी’ र ‘गहिरो शोकको घडी’को रूपमा उल्लेख गरेका छन् । -समाचार एजेन्सी-

