Headlineदेश

२८ लाख स्मार्ट ड्राइभिङ लाइसेन्स अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ हुने

Sharing is caring!

जेठ ११, २०८२ ।  लामो समयदेखि छपाइमा ढिलाइ भएका करिब २८ लाख सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिने भएको छ। यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच भएको समझदारीपछि यो प्रक्रिया अघि बढाइएको हो।

समझदारीअनुसार विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले हालै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नयाँ व्यवस्थाअनुसार असार महिनादेखि छपाइ प्रक्रिया सुरु हुनेछ र पहिलो चरणको छपाइ असार मसान्तभित्र सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिने योजना छ।

सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडलगायतका सुरक्षात्मक विशेषता सहित प्रविधियुक्त स्मार्ट लाइसेन्स उत्पादन गर्नेछ।

विगतमा लाइसेन्स नपाएर धेरै सेवा ग्राहीहरू, विशेषगरी नवीकरण गरिसकेका प्रयोगकर्ताहरू, महिनौंसम्म प्रतिक्षामा बस्न बाध्य भएका थिए। नयाँ छपाइ व्यवस्थाले यस्तो समस्या अन्त्य हुने विश्वास गरिएको छ।

यसैबीच, तत्काल लाइसेन्स हातमा नपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले नागरिक एपमार्फत डिजिटल लाइसेन्स सेवा सुरु गरिसकेको छ। ट्राफिक प्रहरीले सोही एपमा आधारित विवरणका आधारमा सवारी नियमन र जरिवाना संकलन गरिरहेको छ।

सरकारी सहकार्यमा अगाडि बढाइएको यो छपाइ प्रक्रिया छरितो, पारदर्शी र गुणस्तरीय हुने अपेक्षा गरिएको छ। साथै, यसले सेवा प्रवाहमा डिजिटल रूपान्तरण र नागरिकमैत्री पहुँच विस्तारमा योगदान दिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *