नीति तथा कार्यक्रममा १० नयाँ योजना : कामपिच्छे नतिजा देखिने व्यवस्था ल्याइँदै
वैशाख २९, २०८२ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा १० वटा नयाँ योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘काम थाल्ने मात्र होइन, काम सम्पन्न गरेर देखाउने’ कार्यशैली अवलम्बन गर्दै यो नीति अघि सारेको जनाएको छ।
शिक्षा, कृषि, अनुसन्धान, रोजगार, उद्यमशीलता र सरकारी सेवा प्रणाली सुधारमा केन्द्रित यी योजना युवामुखी र नतिजामुखी हुने सरकारको दाबी छ। सरकारले अब अधुरा योजना थालेर बीचैमा रोक्ने प्रवृत्तिको अन्त्य गर्दै स्पष्ट समयसीमा र जबाफदेहितासहित कार्यक्रम सञ्चालन गरिने बताएको छ।
सरकारले यस्ता कार्यक्रममार्फत विकासको काम अब ‘कागजमा मात्र सीमित नरही, फिल्डमा देखिने’ बनाउने संकेत दिएको छ। सरकारले योजना घोषणा मात्रै होइन, परिणाम देखाउने नीति लिएको भन्दै यी कार्यक्रमहरूको कार्यान्वयन प्रभावकारी हुने दाबी गरिएको छ।
यहाँ छन् नीति तथा कार्यक्रममा समावेश १० नयाँ योजना :
🔸 ‘वर्क इन प्रोसेस’ होइन, वर्क कमप्लिट नीति — योजना थालनी गर्नेले नै त्यसको सम्पूर्ण जिम्मेवारी लिने नीति अवलम्बन गरिनेछ।
🔸 लगानी संरक्षणसहित व्यवसायको इकोसिस्टम निर्माण — निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्दै नवप्रवर्तनशील सोच र उद्यमशीलता प्रवर्द्धन गरिनेछ।
🔸 कृषिमा व्यावसायीकरण र उद्यमशीलता विकास — आधुनिक कृषि प्रणाली लागू गर्दै कृषिमा संलग्न युवालाई सीप र स्रोतको पहुँच दिलाइनेछ।
🔸 कमाउँदै पढ्ने नीति — विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई साप्ताहिक २० घण्टा काम गर्ने व्यवस्था मिलाइनेछ।
🔸 स्नातकोत्तर विद्यार्थीलाई अनुसन्धान संस्थामा जोडिने — अध्ययनका साथसाथै प्रयोगात्मक अनुसन्धानमा विद्यार्थीलाई संलग्न गराइनेछ।
🔸 गौरवका आयोजना समयमै सम्पन्न गरिने — राष्ट्रिय महत्त्वका आयोजना तोकिएको समयसीमामा सम्पन्न गर्न प्रगति मूल्यांकन प्रणाली अपनाइनेछ।
🔸 शिक्षा प्रणालीमा प्रविधि र अनुसन्धानमुखी सुधार — प्रविधिको प्रयोगलाई व्यवहारिक बनाउँदै पाठ्यक्रममा अनुसन्धानका अवसर बढाइनेछ।
🔸 विकास आयोजनाको पुनः प्राथमिकिकरण — प्राथमिकता आधारमा आयोजना छनोट गरिने र दोहोरो लगानी बन्द गरिनेछ।
🔸 जेन–जी पुस्तालाई लक्षित स्टार्टअप प्रवर्द्धन — नयाँ पुस्ताका इनोभेटर र स्टार्टअप उद्यमलाई अनुदान तथा सहजीकरण गरिनेछ।
🔸 सरकारी सेवामा इन्टर्नशिपको व्यवस्था — सरकारी तहमा विद्यार्थीलाई इन्टर्न गराइ व्यावहारिक अनुभव दिलाउने नीति ल्याइनेछ।
तर यस्ता घोषणाहरू कार्यान्वयनमा कति प्रभावकारी हुने हुन् भन्नेमा आम जनताले भने व्यवहारमा देखिने नतिजाबाट मात्र विश्वास गर्ने जनाएका छन्।

