२५ दिनमै सकियो चलचित्र ‘द ब्ल्यू लाइट’को छायांकन, निर्देशक चौहानको डेब्यु सिनेमा
असार १३, २०८२ । साइकोलोजिकल थ्रिलर शैलीमा निर्माण भइरहेको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को छायांकन सम्पन्न भएको छ । जेठ २२ गतेबाट सुरु भएको छायांकन उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिँदै २५ दिनमा टुंगिएको निर्माण पक्षले जनाएको छ ।
बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र चौहानकै डेब्यु निर्देशन हो । चौहान यसअघि चर्चित चलचित्र ‘बलिदान’ मा लेखक र मुख्य सहायक निर्देशकको भूमिकामा संलग्न थिए ।
प्रमुख भूमिकामा चर्चित कलाकारहरू
‘द ब्ल्यू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानीको मुख्य भूमिका रहेको छ । बाल कलाकारका रूपमा ग्रिसमा कटुवाल र सहारा शर्मा देखिनेछन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका थिम पोस्टर र फस्टलुक पोस्टर पहिले नै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा नीलो रङको रहस्यमय वातावरणमा एक बालिका उभिएको देखाइएको छ । फस्टलुक पोस्टरमा भने बेनिशा हमाललाई तनावग्रस्त मुद्रामा बारमा देखाइएको थियो ।
कथावस्तु रहस्यमय, जानकारी खुलाइएको छैन
चलचित्रको कथा र पात्रहरूको भूमिका भने गोप्य राखिएको छ । निर्देशक चौहानले आवश्यकतानुसार बिस्तारै खुलाउँदै लैजाने बताएका छन् । उनका अनुसार, “हामीले जे बनाउन खोजेका थियौं, त्यसमा सफल भयौं । अब पोस्ट–प्रोडक्सनको काम सुरु हुन्छ । कलाकारहरूको अभिनयले कथा जीवन्त बनाएको छ, हामी निकै उत्साहित छौं ।”
शक्ति समुहको निर्माण टोली
चलचित्रका को–प्रोड्युसर रमन ग्रे रहेका छन् भने कार्यकारी निर्माता नरेन्द्र मैनाली र बेनिशा हमाल रहेका छन् । मैनालीले नै चलचित्रको छायांकन पनि गरेका हुन् ।
प्रमुख सहायक निर्देशक आकाश उखेडा रहेका छन् भने रेलिजा श्रेष्ठले प्रोडक्सन डिजाइनर र दिलीप पन्तले निर्माण नियन्त्रकको भूमिका निभाएका छन् ।
निर्देशक चौहानका अनुसार ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।

