अखवार

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट संक्रमित

Sharing is caring!

जेठ ३१, २०८० । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी संक्रमित भएका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ।

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन्।

ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अहिलेसम्म दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ।

दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ।

दादुरा रुबेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा संक्रमितले १८ जनासम्म रोग सार्न सक्दछ। मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ।

महाशाखाले काठमाडौंका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाएको छ। यसै सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शंकास्पद केस नगरपालिका र स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ।

यस्तै दादुराको निगरानीको लागि सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुन समेत महाशाखाले अनुरोध गरेको छ। यो खबर अन्न्पूर्ण पोस्टबाटलिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *