अखवार

वीर र शिक्षण अस्पताल नेतृत्वविहीन

Sharing is caring!

मंसिर २०, २०७५ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र शिक्षण अस्पताल महाराजगन्ज चार महिनादेखि नेतृत्वविहीन भएका छन् । राजनीतिक भागबन्डाका कारण समयमा उपकुलपति नियुक्त नहुँदा बिरामीको चाप हुने केन्द्रीय अस्पतालहरू नेतृत्वविहीन बन्न पुगेका हुन् । नेतृत्व अभावमा अस्पतालका महत्वपूर्ण काम रोकिएका छन् । आर्थिक, प्रशासनिक काममा समस्या देखिएको छ । अस्पताल नेतृत्वविहीन अवस्थामा रहँदा संस्थाको काम–कारबाहीका साथै बिरामीको सेवामा गम्भीर असर परेको चिकित्सकहरू बताउँछन् ।

उपकुलपति प्रा.डा. गणेश गुरुङको चारवर्षे कार्यकाल गत २४ साउनमा सकिएपछि २४ वीर अस्पताल नेतृत्वविहीन छ । अस्पतालमा माथिल्ला सबै पद रिक्त छन् । निर्देशकको कार्यकाल पनि ३० असोजबाट सकिएपछि निमित्तको भरमा चलिरहेको छ । निमित्त निर्देशकको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले नै पाएका छन् । उपकुलपति नियुक्त नहुँदासम्म निर्देशकलगायतका पदाधिकारी नियुक्ति गर्न मिल्दैन ।

यस्तै, शिक्षण अस्पताल कार्यकारी निर्देशकविहीन भएको चार महिनाभन्दा बढी भइसकेको छ । तत्कालीन निर्देशक प्रा.डा. दीपकप्रकाश महराले ४ साउनबाट लागू हुनेगरी राजीनामा दिएपछि अस्पताल नेतृत्वविहीन बनेको हो ।

आइओएमका डिन प्रा.डा. जगदीश अग्रवालका अनुसार केही समयअघि सिफारिस समितिले प्रा.डा. प्रेम खड्का, प्रा.डा. वाइपी सिंह र प्रा.डा. सुशील शिल्पकारको नाम त्रिवि कार्यकारी परिषद्मा पठाएको छ । तर, निर्णय अझै भएको छैन ।

ट्रमा सेन्टर वर्षौंदेखि  निर्देशकविहीन
नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टरसमेत वर्षौंदेखि निर्देशकविहीन छ । डा. प्रमोद उपाध्यायलाई कामकाज गर्ने गरी जिम्मेवारी दिइएको थियो । तर, निर्देशक नियुक्ति नगरेपछि डा. उपाध्यायले दुई महिनाअघि राजीनामा दिए । रिक्त स्थानमा अहिलेसम्म पदपूर्ति गरिएको छैन । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *