त्रिभुवन विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन
असार १६, २०७६ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमवार (आज) देखि दैनिक २१ घण्टा सञ्चालन हुने भएको छ । धावनमार्गको कालोपत्र परिवर्तन (रिह्याब) को काम सकिएलगत्तै पूर्ववत् तालिकाअनुसार विमानस्थल सञ्चालन हुन लागेको हो ।
गत चैत १८ गतेदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) उडान रोकेर धावनमार्गको स्तरोन्नति हँुदै आएको थियो । अब बिहान ६ बजेदेखि अर्को दिनको बिहान ३ बजेसम्म (२१ घण्टा) विमानस्थल सञ्चालन हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । उनले भने, ‘अब पूर्ववत् रूपमा विमानहरू रातिको समयमा पनि उड्नेछन् ।’
करिब ४० वर्षभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर सञ्चालन गरिएको धावनमार्गमा ‘रिह्याब’को काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङले रू. ४ अर्ब २७ करोडमा धावनमार्गको स्तरोन्नति सम्पन्न गरेको हो ।
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको कालोपत्र पहिलोपटक पूरै फालेर नयाँ हालिएको हो । अब गरेको नयाँ पिचले पुनः ३० देखि ४० वर्षसम्म काम दिने प्राधिकरणले जानकारी दिएको छ । यो काम सकेपछि आठ महीनाभित्र ट्याक्सी वेको काम सक्ने प्राधिकरणको योजना छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान गरी दैनिक सरदर ४ सय उडानहरूको ‘मुभमेन्ट’ हुने गर्छन् । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

