अखवार

डेंगु प्रकोप: दक्षिण एसियामा एकै भाइरस

Sharing is caring!

भदौ २७, २०७६ । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्।

‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा.बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा.लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तŒव जिम्मेवार रहेको बताइन्। डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ।

लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा.नागपालले बताए। उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्।

६ जनाको मृत्यु

डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ। ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको अनुमान छ।

सातै प्रदेशका ६२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। सबैभन्दा बढी प्रदेश ३ प्रभावित छ। गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमण बढ्दो छ।

काठमाडौंमा मात्रै १ हजार १ सय ७० जना संक्रमित छन्। एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार डेंगु भाइरसका चार प्रजाति छन्। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *