डाक्टर केसीले अनशन स्थगित् गर्नुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली
साउन ४, २०७५ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताएका छन् । उनले भने,‘संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत भएको छ, विद्येयकलाई अन्तिम रुप दिनको लागि डाक्टर केसीले अनशन स्थगन् गर्नुपर्छ।’
आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका डाक्टरहरु जुम्ला पठाएको बताउँदै भने,‘तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न दिईएन, उहाँको स्वास्थ्य अवस्था जटिल बनेको थियो, सरकारको सर्वोपरी कुरा उहाँको जीवन रक्षा गर्नु थियो, त्यसैले हामीले उहाँलाई हिजो हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याएका हौं।’
उनले सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएको गुनासो पोख्दै भने,‘अस्पतालमा ढुंगामुढा किन गरियो ? यसको जवाफदेही को हुन्छ ? उहाँले असल मनशायले अनशन बस्नुभएको हो, तर केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेका छन्, उहाँको अनशन र आन्दोलनलाई हतियार बनाए, यो कुरालाई डाक्टर केसीले बुझ्नुपर्छ।’ डाक्टर केसीको विशुद्ध पेशागत कुरामा यस्ता खालका दागहरु लाग्न दिन नहुने उनको भनाई थियो ।
त्यसैले डाक्टर केसीले अब भन्नुपर्छ मैले त असल मनशायका साथ अनशन बसेको थिएँ, तर केही राजनीतिक दल र गलत तत्वहरुले आफ्नो स्वार्थसिद्धीको माध्यम बनाउन थाले त्यसैले म यसबाट अलग भएँ भन्नुपर्छ, उहाँले अनशन स्थगित् गर्नुपर्छ, सरकारले वार्ता टोली बनाएको छ, हामी वार्ता गर्न सदैव तयार छौं, तर कसैले डाक्टर केसीको आन्दोलनलाइ राजनीतिकरण गर्न खोज्छ भने हामीलाई स्विकार्य छैन्।’ डाक्टर केसीका जायज मागप्रति सरकार लचिलो भएर छलफल गर्न तयार रहेको उनको विश्वास छ ।
मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा विकृति रहेको स्विकार्दै अहिले यसबारेको बहस बरालिएको सुनाए । उनले भने,‘सम्बन्धन पाउने पर्खाईमा रहेका मेडिकल कलेजका कारण अहिले समस्या निम्तिएको होईन, निजीकरणको नाममा कलेजहरुलाई हिजो अन्धाधुन्ध सम्बन्धन दिने गलत काम भयो, फ्याकल्टी नभएका मेडिकल कलेजहरुलाई १५० सिटसम्मको स्विकृति दिईयो, त्यसैले नेपालमा मेडिकल शिक्षा अस्तव्यस्त भएको हो, माथेमा आयोगले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओली हुँदा नै प्रतिवेदनको मस्यौदा बनाएको हो, अहिले दुई अढाई वर्षमा कतिपय परिस्थितिहरु बदलिएका छन्, त्यसैले थोरै परिवर्तन गरेर हामीले विद्येयक संसदमा दर्ता गराएका छौं।’
उनले चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोग गठनको विधिबारे छलफल गर्नुपर्ने धारणा समेत राखे । उनले भने,‘बरु उच्चस्तरीय आयोग गठन र यसका विधिबारे छलफल गरौं, नपुगेका कुराहरुमा पूर्नविचार गरौं, आज डाक्टर केसीका कारण मेडिकल शिक्षामा सुधार भएका छन्, सरकार यसको लागि उहाँलाई धन्यवाद दिन्छ।’
उनले अघि थपे,‘उहाँकै कारणले गर्दा आज मेरिटको आधारमा मेडिकल कलेजमा विद्यार्थीहरु भर्ना हुन थालेका छन्, यो राम्रो पक्ष हो, तर छलफल गर्ने ठाउँ त संसद हो नि, संसद बाहिर छलफल गर्नुहुँदैन्, विद्येयकमाथि संसदमा छलफल गरौं, बरु चित्त नबुझको कुरामा संशोधन हाल्न सकिन्छ, परिमार्जनसहित पास हुन्छ, तर अध्यादेशमा भएका कुराहरु कमा, फुलस्टपनि परिवर्तन गर्न पाईँदैन भन्ने होईन्।’ आफूहरु राम्रा र सकारात्मक सुझावहरु ग्रहण गर्दै अघि बढ्ने पक्षमा रहेको उनले विश्वास दिलाए ।

