अखवार

कृषि क्षेत्रमा नेपाली लैजाने जापानको तयारी

Sharing is caring!

कात्तिक २७, २०७६ । जापानले रोजगारीका लागि नेपालबाट नर्सिङ सेवाका केयर गिभर लैजान भाषा परीक्षा गरिरहेका बेला कृषि क्षेत्रमा समेत नेपाली श्रमिक लैजानेबारे अध्यायन सुरु गरेको छ । जापानले रोजगारीका लागि नेपालबाट पहिलो चरणमा केयर गिभर लैजान छनोट गरिरहेका बेला ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लु) अन्र्तगत कृषि, वन तथा मस्त्य क्षेत्रमा समेत श्रमिक माग गर्ने विषयमा गृहकार्य गर्ने भएको छ ।
नेपाल र जापान सरकारबीच ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लु) अन्र्तगत नेपाली श्रमिकहरु पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी) अनुसार १४ क्षेत्रमा नेपाली युवालाई रोजगारी दिने योजना अन्र्तगत दोस्रो चरणमा कृषि श्रमिक लैजाने गृहकार्य सुरु गरेको हो । समझदारी अनुसार तोकिएका विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयको भने टुंगो लागिसकेको छ ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको भेटमा जापानको कृषि, वन तथा मत्स्य विकास मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपालबाट दोस्रो चरणमा कृषि श्रमिक लैजाने जानकारी दिए ।
नेपालका लागि जापानका राजदूत मासामिची साइगो समेत सहभागी रहेको भेटघाटमा समझदारी अनुसार तोकिएका विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । सो अवसरमा नेपाल र जापान सरकार बीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै निजी क्षेत्रहरुबीच समेत सम्बन्ध स्थापित गर्ने सम्भावनाको बारेमा छलफल भएको छ ।
श्रम मन्त्री बिष्टले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेकाले नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने जनाउँदै रोजगारीका अवसर दिन अनुरोध गरे ।
सो अवसरमा नेपालले हाल चलिरहेको नर्सिङ केयर गिभर लिने प्रकृयालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन समेत अनुरोध गरेको छ । भेटघाटमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख नाकाडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताउँदै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने बताए । नेपालका लागि जापानका राजदूत साइगाले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापानबीच भएको श्रम समझदारी अनुसार क्रमिक रुपमा सीप परीक्षण गरी थप अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने जानकारी दिए ।
सन् २०१९ को अप्रिल १ देखि जापानले १४ कार्यक्षेत्रहरु कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्टस् उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपूर्जा उद्योग एवम हवाइ उद्योगमा श्रमिकहरु लिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नेपाली श्रमिकहरुलाई १४ वटै क्षेत्रमा खुला गरिएको भएपनि हाल एक क्षेत्रमा मात्र लैजाने गरी परीक्षा र अन्य तयारी भएको छ । यो खबर कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *