Headlineसमाचार

कांग्रेसले सानेपाको केन्द्रीय कार्यालय विस्तार गर्ने, १३ करोड लागतको नयाँ घर र जग्गा खरिद

Sharing is caring!

असार १३, २०८२ । ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिसरलाई अझ फराकिलो र व्यवस्थित बनाउने गरी नयाँ घर र जग्गा खरिद गरिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यालयअगाडि रहेको १९ आना जग्गा र त्यसैमा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको हो । उक्त जग्गा र घर ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको छ ।

असार ११ गते कांग्रेस केन्द्रीय कार्यालय र अमात्यबीच खरिद सम्झौता भएको छ । सम्झौतामा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थिति रहेको थियो ।

पार्टीले जग्गा खरिद सम्झौताका क्रममा ५० लाख रुपैयाँ बैना दिइसकेको छ । एक वर्षभित्र पास गर्ने सर्तसहित सम्झौता गरिएको जनाइएको छ ।

जग्गा तथा घर खरिदको कुल लागत १३ करोड रुपैयाँ रहेको छ। पार्टीको विभिन्न तहबाट उठ्ने लेवी र शुभेच्छुकहरूको आर्थिक सहयोगमार्फत उक्त रकम जुटाउने योजना बनाइएको छ ।

पार्टीले यस पहललाई सबैको ‘अपनत्वसँग जोडिएको अभियान’ का रूपमा लिएको जनाएको छ। यो विस्तारपछि सानेपास्थित पार्टी कार्यालय भौतिक रूपमा थप सक्षम र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *