इन्जिनियरिङ शुल्क वृद्धिको चार विद्यार्थी संगठनद्वारा विरोध
भदौ ७, २०८० । विभिन्न चार विद्यार्थी संगठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धिको विरोध गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, विभिन्न चार विद्यार्थी संगठनले इन्जिनियरिङको स्नातक तहमा नियमित तर्फ शुल्क ३५ हजार बाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाख ३० हजार बाट बढाएर ७ लाख ७५ हजार पुरÞ्याइएको प्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् ।
पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले वार्ताको मन्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् ।
वार्ताको मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्क वृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु । उनले भनिन् ।
नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित गराउने निश्चित छ । इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी घोर भरत्सना गर्दछौं । संयुक्त विज्ञप्तिमा भनिएको छ ।

