मनोरञ्जन

‘आयोजना नम्बर १६०’ दमकमा मञ्चन हुँदै, बेथिति र सुशासनमाथि व्यङ्ग्य

Sharing is caring!

असार १३, २०८२ । झापाको दमकस्थित कदम थिएटरले यसपटक नयाँ नाटक ‘आयोजना नम्बर १६०’ मञ्चन गरिरहेको छ । असार ५ गतेदेखि सुरु भएको यो नाटक असार १५ गतेसम्म मञ्चन हुने कार्यक्रम रहेको छ । थिएटरका कला निर्देशक सिजन दाहालका अनुसार नाटक हरेक साँझ ५ः१५ बजे नियमित रूपमा प्रदर्शित हुँदै आएको छ ।

‘आयोजना नम्बर १६०’ भारतीय नाटककार अजय शुक्लाको चर्चित हिन्दी नाटक ‘ताजमहलका टेन्डर’को नेपाली रूपान्तरण हो, जसलाई नवीन भण्डारीले अनुवाद गरेका हुन् । नाटकले सरकारी योजनाको प्रक्रियागत लापरवाही, कर्मचारीतन्त्रको लोभ र बेथिति तथा सुशासनमाथि व्यङ्ग्य प्रस्तुत गर्छ ।

दाहालका अनुसार नाटक हाँस्यरसमा आधारित भए पनि यसले गम्भीर सन्देश दिन खोजेको छ । सरकारले योजनाको नाममा कसरी अनावश्यक खर्च गर्छ र त्यसपछि ती आयोजनाहरू अलपत्र पर्छन् भन्ने यथार्थ चित्रण गरिएको छ । साथै, सत्तामा रहेका अधिकारी र कर्मचारी तन्त्रको भूमिका पनि प्रस्ट पारिएको छ ।

कदम थिएटरको ‘पाइवाइला हिममानाटक’ कार्यक्रमअन्तर्गत मञ्चन भइरहेको यो नाटकमा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभिनय गरेका छन् । यिनै कलाकारहरूले संयुक्त रूपमा निर्देशन पनि गरेका हुन् । लाइट व्यवस्थापनमा आयुष भण्डारीको योगदान रहेको छ ।

स्थानीयस्तरमै व्यावसायिक रंगमञ्चको प्रवर्द्धन गर्दै आएको कदम थिएटरले नियमित रूपमा सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित नाटक मञ्चन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *